धनकुटा — भोजपुरको कोप्चेबाट सुनसरीको चतरा जाँदै गरेको पानीबोट आइतबार सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक बालकसहित तीन जना बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटालाई उद्धृत गर्दै कान्तिपुरले साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको जनाएको छ। ओबीएम कम्पनीको बोटमा चालकसहित १५ जना सवार थिए। कोप्चे भोजपुरको हतुवागढी गाउँपालिका–९ मा पर्छ।
प्रहरीका अनुसार उद्धार गरेर चतरा अस्पताल पठाइएका १२ जनामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लीला राई, एक बालिका र एक पुरुष छन्। बालिका र पुरुषको पहिचान खुलेको छैन।
घाइते मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीलाई उद्धृत गर्दै गोरखापत्रले उनको अवस्था सामान्य रहेको जनाएको छ। केही यात्रु पौडी खेलेर बाहिर निस्किएका थिए भने उद्धार गरिएका अन्य यात्रु घर फर्किएका छन्।
बेपत्ता बालकसँगै बराहक्षेत्रका प्रमिला मगर र मनु राईको खोजी भइरहेको प्रहरीको विवरण छ। खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।
बोट चालक सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोटको ब्रेक फेल भएको प्रहरीको प्रारम्भिक भनाइ छ। यसलाई दुर्घटनाको कारणबारे अन्तिम निष्कर्षका रूपमा लिन मिल्दैन।


