बुढीगण्डकी बाढी: छ जना अझै सम्पर्कविहीन, १,१२० जनाको उद्धार

गोरखा र धादिङमा घर, पुल र जलविद्युत् आयोजनामा क्षति; सडक नपुगेका क्षेत्रमा हवाई माध्यमबाट राहत वितरण।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ — गोरखाको बुढीगण्डकीमा आएको बाढीपछि छ जना अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट १,१२० जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको चौथो स्थिति प्रतिवेदनमा २०८३ असोज ३० गते बिहान १० बजेसम्मको विवरण समेटिएको छ। त्यसअनुसार चार पुरुष र दुई महिला सम्पर्कमा आएका छैनन्। उद्धार गरिएकामा १,०३९ नेपाली र ८१ विदेशी नागरिक छन्।

बाढीले १४६ घर र निर्माणाधीन तीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। दुई पक्की पुल, छ झोलुङ्गे पुल, एउटा बेलिब्रिज र एउटा क्यान्टिलिभर पुलमा पनि क्षति पुगेको छ।

चुमनुब्री गाउँपालिका–३, घट्टेखोलाको विकास प्राथमिक विद्यालय र तीन सवारीसाधनमा समेत क्षति भएको छ। प्रतिवेदनअनुसार बाढीले १४० देखि १५० पशुचौपाया बगाएको छ।

आरुघाट–५ को शान्तिबजारमा ४४ घर पुरिएका छन्। चुमनुब्री–३ को पैयुममा ३६ र आरुघाट–३ को सोतीमा १९ घर पुरिएको विवरण छ। सोतीमा अर्को एउटा घर बगेको छ।

सल्लेरीमा सातदेखि आठ घर बगेका छन् भने २० देखि २२ घर अझै जोखिममा छन्। धादिङको त्रिपुरासुन्दरी–२, विशालनगरमा करिब ६५ घरमा बाढी पसेको प्राधिकरणले जनाएको छ।


बाढीको कारणबारे प्रारम्भिक प्राविधिक आकलनले चुमनुब्री–६ को उङ्दिलुङ खोलामाथिको हिमाली क्षेत्रमा गएको पहिरो औँल्याएको छ। असोज २५ गते बिहान करिब ४:२० बजे त्यहाँ हिमपहिरो र हिउँ तथा गेग्रानसहितको ठूलो पहिरो गएको प्रतिवेदनमा उल्लेख छ।

करिब ६,००० मिटर उचाइमा हिमपहिरो र करिब ५,५०० मिटरको हिमनदी क्षेत्रमा अर्को पहिरो गएको प्रारम्भिक विवरण छ। त्यहाँबाट बगेको गेग्रान उङ्दिलुङ र स्यार खोलाको साँघुरो दोभानमा थुप्रिएको थियो।

गेग्रानले बहाव थुन्ने र फेरि खुल्ने क्रम चल्दा बुढीगण्डकीमा पटकपटक लेदोयुक्त बाढी आएको प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ। बाढीको सतह बढ्नुमा थुनिएको पानीभन्दा उङ्दिलुङबाट आएको ठूलो परिमाणको गेग्रानको भूमिका उल्लेखनीय देखिएको प्रतिवेदनमा उल्लेख छ।

पहिलो बाढी बिहान करिब ४:३० बजे सल्लेरी पुगेको थियो। करिब ६:३० बजे आएको सबैभन्दा ठूलो बाढीले त्यहाँको जलविद्युत् आयोजनाको क्याम्प बगाएको विवरण छ। त्यसबेला सल्लेरीमा बाढीको सतह करिब २० देखि २५ मिटर रहेको प्राधिकरणले जनाएको छ।


खोज तथा उद्धारमा १,०५० सुरक्षाकर्मी खटिएका छन्। तीमध्ये नेपाली सेनाका १७१, नेपाल प्रहरीका ४९० र सशस्त्र प्रहरी बलका ३८९ जना छन्। सेनाका चार हवाई साधन परिचालन गरिएको छ भने असोज २५ देखि २९ गतेसम्म २५८ उडान भएका छन्।

असोज २९ गते छेकम्पारबाट ५२ जनाको उद्धार गरिएको थियो। उनीहरूमध्ये २१ जनालाई काठमाडौँ पठाइएको छ। आरुघाटबाट पनि एक जनालाई काठमाडौँ ल्याइएको प्रतिवेदनमा उल्लेख छ। त्यस दिन आठ उडानबाट ३,९६० किलो राहत सामग्री ढुवानी गरिएको थियो।

गोरखाका बाढीपीडितका लागि १५० टेन्ट, १५० त्रिपाल, ५०५ म्याट्रेस र ४४० कम्बल पठाइएको छ। खाद्यान्नमा ६९० खाद्य प्याकेज र २४८ बोरा चामललगायत सामग्री छन्।

धादिङतर्फ ५८ टेन्ट, ६० त्रिपाल, १८० म्याट्रेस, २४० कम्बल, ५४० ज्याकेट र १८० खाद्य प्याकेजलगायत राहत पठाइएको प्राधिकरणको विवरण छ।

आरुघाटबाट उद्धारको समन्वय र राहत व्यवस्थापन भइरहेको छ। सडक पुगेका ठाउँमा स्थलमार्गबाट सामग्री लगिएको छ भने सडक पहुँच नभएका क्षेत्रमा हवाई माध्यमबाट उद्धार र राहत वितरण जारी छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

मूख्य अंश हर्नडन हाइस्कूलका छात्र जेम्स कुलाट्टा गम्भीररूपमा जलेर दुर्घटनाबाट बाँचेर मञ्चमा...

अन्य समाचार

- Advertisement -spot_img