गम्भीर खाद्य संकट झेलिरहेका नागरिकलाई सहायता पुर्याउन र सुरक्षित रूपमा बाहिर निकाल्न उक्रेन र रूस ओलेस्कीमा मानवीय युद्धविराम गर्न सहमत भएका छन्। खेर्सोन क्षेत्रको उक्त सहरमा हुने युद्धविराम दुवै पक्षले पुष्टि गरेको भ्याटिकन न्युजले जनाएको छ।
रूसी सेनाका जनरल स्टाफ प्रमुख तथा उपरक्षामन्त्री भालेरी गेरासिमोभका अनुसार मानवीय अभियान सञ्चालन गर्न अक्टोबर २७, मंगलबार बिहान सबेरैदेखि रूसी सेनाले युद्धविराम पालना गर्नेछ। यसअघि ह्वाइट हाउसले युद्धविराम अक्टोबर २९, बिहीबारदेखि सुरु हुने घोषणा गरेको थियो।
गेरासिमोभको भनाइ सार्वजनिक हुनुभन्दा केही घण्टाअघि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि सहमतिको पुष्टि गरेका थिए। उनले सहायता सामग्री भित्र्याउन र नागरिकलाई बाहिर निकाल्न युद्धविराम गरिने बताएका थिए।
उक्रेनी संसद्का मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्सले सहमति जुटाउन भूमिका खेलेको भन्दै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन्। टेलिग्राममा उनले मानवीय अभियान जटिल रहेको र चरणबद्ध रूपमा सञ्चालन हुने बताएका छन्। ओलेस्कीका मानिसलाई बचाउन उक्रेनले सम्भव सबै प्रयास गर्दै आएको उनको भनाइ छ।
यसअघि पोप लियो चौधौँले पनि ओलेस्कीमा मानवीय युद्धविरामको अपिल गरेका थिए। उपचारका क्रममा रोमको जेमेली अस्पतालमा रहेका बेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गर्दै उनले त्यहाँको मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए।
नागरिकसम्म खाद्यान्न र औषधि पुर्याउन तथा स्वेच्छाले सहर छाड्न चाहनेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल युद्धविराम आवश्यक रहेको पोपले बताएका थिए। सोमबार उक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा पनि उनले यही विषय उठाएका थिए।
यसैबीच, जेलेन्स्कीले नोभेम्बरको पहिलो आधामा उक्रेन, रूस र अमेरिकाका प्रतिनिधिमण्डलबीच संयुक्त अरब इमिरेट्सको अबुधाबीमा वार्ता हुने बताएका छन्।
कार्यसमूह स्तरमा हुने उक्त वार्ता अमेरिकी मध्यस्थतामा मस्को र किएभबीच प्रत्यक्ष संवाद अघि बढाउने तथा लडाइँ अन्त्य गर्ने प्रयासको अर्को चरण हुनेछ।
अमेरिकी दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नरसँगको छलफलपछि जेलेन्स्कीले वार्ताबारे जानकारी दिएका हुन्। ती दूतहरूले केही दिनअघि पुटिनसँग पनि भेट गरेका थिए। क्रेमलिनले यसअघि नै नोभेम्बर १० पछि वार्तामा फर्कन इच्छुक रहेको जनाएको थियो।
जेलेन्स्कीले सम्भावित शान्ति सम्झौतामा थप रूसी आक्रमणबाट उक्रेनलाई जोगाउने बलियो अन्तर्राष्ट्रिय सुरक्षा प्रत्याभूति हुनुपर्ने अडान दोहोर्याएका छन्। उक्रेनी सशस्त्र बललाई कायम राख्न कम्तीमा १० वर्षको वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने पनि उनले बताएका छन्।
भ्याटिकन न्युजका अनुसार सुरक्षा प्रत्याभूति, भूभागसम्बन्धी प्रश्न र सम्भावित युद्धविराम कार्यान्वयनको व्यवस्था वार्ताका मुख्य विषय रहेका छन्।



