काठमाडौँ — कात्तिक १७ र १८ गते देशभर बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार अभियानबाट करिब २१ लाख बालबालिकालाई समेट्ने लक्ष्य छ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन्। एक वर्षदेखि पाँच वर्षसम्मका करिब २० लाख बालबालिकालाई त्यही अवसरमा जुकाको औषधि पनि दिइने थापाले राष्ट्रिय समाचार समिति (रासस) लाई बताएका छन्।
तयारीअन्तर्गत क्याप्सुल र जुकाको औषधि सबै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइसकिएको छ। पोषण शाखाले ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गर्ने जनाएको छ।
यो चरण सामान्यतया कात्तिक २ र ३ गते चलाइन्थ्यो। दसैँको बिदा परेकाले मिति सारेर कात्तिक १७ र १८ गते तोकिएको विभागको भनाइ छ।
नेपालमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम आर्थिक वर्ष २०५०/५१ मा सुरु भएको हो। जुकाको औषधि दिने कार्यक्रम २०५६/५७ देखि सञ्चालनमा रहेको राससले जनाएको छ।


