कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको छ। कोलिग्राम पोस्टका अनुसार लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७.२ ओभरमा ८७ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका किशोर महतोले चार विकेट र शेर मल्लले तीन विकेट लिए।
लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सी सर्टले १८ बलमा ४० रन र आसिफ शेखले ३२ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट र कप्तान ऐरीले एक विकेट लिए।
गत संस्करणको फाइनलमा पनि सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो। प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रो खेलमा साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



