काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली र उपप्रमुख रेशम कुमारी थापासहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आरोपपत्रमा उनीहरूले १ करोड ६० लाख ११ हजार ४३१ रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ।
अन्य प्रतिवादीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजश्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादव छन्।
मुद्दा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा नगरपालिकाको पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको ठेक्कासँग सम्बन्धित छ। अन्नपूर्ण पोस्टका अनुसार आयोगले ती बजार प्रतिस्पर्धाबिना सोझै यादवलाई दिइएको आरोप लगाएको छ।
आयोगले तेली, थापा, केसी, सहनी र यादवसँग १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो माग गरेको छ। पौड्याल र महतोसँग १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ बिगो माग गरिएको छ।
आयोगले नगरपालिकाको आर्थिक ऐन र प्रचलित कानुनविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरिएको र सञ्चित कोषमा जम्मा हुनुपर्ने रकम नउठाइएको आरोप पनि लगाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



