कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको जनकपुरले कर्णालीलाई २० ओभरमा नौ विकेटमा १३२ रनमै रोकेको थियो। आरिफुल इस्लामले २९ बलमा चार छक्कासहित ४३ रन र पवन सराफले ३७ रन बनाए। जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए भने मोइन अली र राहुल यादवले दुईदुई विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा जनकपुरका ठूला नाम चलेनन्। मोइन अली र हरमित सिंहले १९-१९ रन बनाए भने जेम्स निसम १५ रनमै आउट भए। अभिषेक तिवारीले टोलीका लागि सर्वाधिक २० रन बनाए पनि जितका लागि पर्याप्त भएन।
कर्णालीका युनिश ठकुरीले तीन विकेट लिए र खेलको उत्कृष्ट खेलाडी घोषित भए। हुसेन तलतले पनि तीन विकेट लिए। त्यसअघि दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले हराएको थियो।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



