काठमाडौँ — नेपालले प्रस्ताव गरेका तीनै जलवायु परियोजना जलवायु अनुकूलन कोषको बोर्डले स्वीकृत गरेको छ। तीन परियोजनाको कुल लागत करिब ४ करोड ५० लाख अमेरिकी डलर छ।
कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृति मिलेको हो। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सीमित स्रोत र विश्वभर बढ्दो मागबीच नेपालका लागि यो ठूलो उपलब्धि भएको बताएकी छन्। परियोजनाले वातावरणीय आर्थिक भार घटाउने र विपद् तथा जलवायु क्षति कम गर्ने उनको भनाइ छ।
सबैभन्दा ठूलो रकम हिन्दुकुश हिमालय क्षेत्रका लागि छुट्याइएको छ — ३ करोड डलर। बाढी र पहिरोको पूर्वचेतावनी बलियो बनाउने तथा अनुकूलन क्षमता बढाउने यस परियोजनाको जिम्मा इसिमोडले पाएको छ।
दोस्रो परियोजना ‘ग्रिन कोशी’ हो, ९९ लाख २७ हजार ७५० डलरको। प्रकृतिमा आधारित उपायबाट कोशी क्षेत्रको पारिस्थितिक प्रणाली जोगाउने र सहनशीलता बढाउने लक्ष्य यसको छ। कार्यान्वयन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्नेछ।
लुम्बिनी प्रदेशका लागि तेस्रो परियोजना स्वीकृत भएको छ। स्थानीय नेतृत्वमा प्रकृतिमैत्री जलवायु कार्य अघि बढाउने ४९ लाख ९८ हजार ७०७ डलरको यो परियोजना युएन–ह्याबिटाटले सञ्चालन गर्नेछ।
बैठकमा नेपालबाट बोर्ड सदस्य नरेश शर्मा सहभागी थिए। उनकै पहलमा भोटेकोशी बाढीपछिको विपद् व्यवस्थापन र पुनर्निर्माणबारे बैशाखमा बस्ने अर्को बैठकमा छलफल गर्ने सहमति भएको अन्नपूर्ण पोस्टले जनाएको छ। यसपटक समय नपुगेर त्यो विषय उठ्न पाएन।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



