संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुन दिइएको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म बढाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा न्युयोर्कस्थित राष्ट्रसङ्घ मुख्यालयमा बसेको महासभाको ८१औँ अधिवेशनले प्रस्ताव नम्बर ८१/एल.८ सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।
यसअघि नेपाल, बङ्गलादेश र लाओस यसै वर्षको नोभेम्बरमा अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुने तय थियो ।
नेपालले गत मे महिनामा संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिसमक्ष आर्थिक कमजोरी र बढ्दो भूराजनीतिक चुनौतीको कारण देखाउँदै स्तरोन्नति तीन वर्ष सार्न औपचारिक अनुरोध गरेको थियो ।
सचिवालयका अनुसार यो निर्णयले नेपाललाई संस्थागत तयारी बलियो बनाउन र सहज सङ्क्रमण रणनीतिको प्रभावकारी कार्यान्वयन गर्न थप समय दिने छ ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



