ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा हुने जलवायुजन्य विपद् केही घण्टाभित्रै सयौँ किलोमिटर टाढा र सीमापारसम्म फैलिन सक्ने बताएका छन्। बैंककमा बुधबार सुरु भएको एसिया तथा प्रशान्त क्षेत्रका लागि अन्तरिक्ष प्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा उनले क्षेत्रीय सहकार्य र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएको Nmkhabar ले जनाएको छ।
मन्त्री श्रेष्ठका अनुसार हालैका विपद्को द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनले आर्थिक असर करिब २ अर्ब ७० करोड डलर पुगेको देखाएको छ। पुनर्निर्माण र पुनःस्थापनाका लागि करिब ४ अर्ब ८० करोड डलर लाग्ने अनुमान उनले सम्मेलनमा राखे।
उनले गत अगस्ट २६ मा लाङटाङ लिरुङको माथिल्लो भागबाट चट्टान र हिमनदीको बरफ खस्दा भोटेकोशी र त्रिशूली बेसिनमा आएको बाढी सम्झे। बस्ती, सडक, पुल, सीमा नाका र जलविद्युत् आयोजनामा त्यसले क्षति पुर्याएको थियो। अक्टोबर ११ मा बुढीगण्डकी क्षेत्रमा पहिरोले नदी थुनिएर पछि फुट्दा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको घटना पनि उनले उल्लेख गरे।
वर्षाको पूर्वानुमान मात्र यस्ता विपद् बुझ्न पर्याप्त नहुने मन्त्री श्रेष्ठको भनाइ छ। हिमनदी, हिमताल र अस्थिर पहाडी भूभागको नियमित अनुगमन, उपग्रह तस्बिर, भूस्थानिक विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग विस्तार गर्नुपर्ने उनले बताए।
नेपालले विश्व हरितगृह ग्यास उत्सर्जनमा ०.०१ प्रतिशत मात्र योगदान गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय अनुकूलन योजना (सन् २०२१–२०५०), तेस्रो राष्ट्रिय निर्धारित योगदान र सन् २०४५ सम्म खुद शून्य उत्सर्जनको लक्ष्यप्रति नेपाल प्रतिबद्ध रहेको बताए। सम्मेलनको छेउमा बिहीबार हुने क्षेत्रीय संवादमा भोटेकोशी–त्रिशूली विपद्का पाठ छलफल हुने र मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्कने कार्यक्रम छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



