रोल्पा — रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी गाउँपालिका–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब ६०० मिटर तल खसेको अनलाइनखबरले जनाएको छ।
मृत्यु हुनेमा माडी–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन्। इलाका प्रहरी कार्यालय घर्तीगाउँले बिहान सवा १० बजे दुर्घटनाबारे जानकारी पाएको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार भण्डारीलाई घर्तीगाउँस्थित स्मृति अस्पतालका चिकित्सकले जाँचपछि बिहान साढे ११ बजे मृत घोषणा गरेका थिए। गम्भीर घाइते घर्तीमगरलाई थप उपचारका लागि दाङ रिफर गरिएकोमा दाङ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि शव बाटोबाटै फर्काइएको चन्दले बताए।
अटोमा चालकसहित तीन जना सवार थिए। चालक माडी–३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


