नेपालले आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै अंकतालिकामा छैटौँ स्थान फर्किएको छ। ओमानको अल अमिरात मैदानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० रनमा समेटियो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। रोहित पौडेलले ८१ बलमा ८०, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ र देव खनालले ६५ बलमा ५७ रन बनाए। ९९ रनमा तीन विकेट गुमाएको नेपालका लागि पौडेल र ऐरीले १३९ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। ओमानका शाह फैसलले पाँच विकेट लिए।
जवाफमा ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए। दोस्रो विकेटका लागि उनीहरूले १५८ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। हसनैन शाह २३ बलमा ४० रन बनाएर अविजित रहे।
अन्तिम ओभरमा ओमानलाई जितका लागि २३ रन चाहिएको थियो। दीपेन्द्रसिंह ऐरीले बलिङ गरेको उक्त ओभरको अन्तिम दुई बलमा ११ रन चाहिएको अवस्थामा ओमानले रन बनाउन सकेन र नेपाल १० रनले विजयी भयो।
यो जितसँगै नेपाल ३६ खेलबाट ३० अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ। शनिबार क्यानडासँग हारेपछि नेपाल २८ अंकसहित सातौँ स्थानमा झरेको थियो। लिग–२ मा शीर्ष छ टोलीमा पर्ने सम्भावना एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले महत्त्वपूर्ण मानिन्छ।


