गुल्मी — गुल्मीको कालीगण्डकी गाउँपालिका–२ डबौखानीमा सोमबार दिउँसो स्कर्पियो सडकबाट करिब २५० मिटर तल खस्दा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका प्रहरीले जनाएको छ।
कालीगण्डकी करिडोरमा दिउँसो करिब ४ बजे दुर्घटना भएको हो। स्याङ्जाको चिर्खोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको Ba 0220 नम्बरको स्कर्पियोमा चालकसहित नौ जना सवार थिए।
प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने निता बागालेको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलिपकुमार बागाले, वालिङ–१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिर्खोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।
घाइते छविलाल पाण्डेको अवस्था गम्भीर रहेको र गोमाता पाण्डे तथा बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि पुर्तीघाट प्रहरी चौकी, रिडी क्षेत्र प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीका टोली स्थानीयसँगै उद्धारमा खटिएका थिए। दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



