जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पाँच नदीका पहाडी र चुरे जलाधारमा शुक्रबार–शनिबार आकस्मिक बाढी आउन सक्ने आकलन गरेको छ। कात्तिक १३ को बुलेटिनमा नारायणी, बागमती, कमला, कन्काई र कोशीका ती जलाधार तथा नदीकिनारको यात्रामा जोखिम औँल्याइएको छ।
केन्द्रका अनुसार चक्रवात ‘अर्नब’ को प्रभावमा वर्षा भइरहेको छ र थप वर्षाले नदीको सतह बढाउन सक्छ। प्रमुख नदीहरूमा भने हालको आकलनले सतर्कता तह पार हुने सम्भावना न्यून देखाएको छ। वास्तविक वर्षा र नदीको अवस्थासँगै जोखिम बदलिन सक्ने बुलेटिनमा उल्लेख छ।
शनिबार प्रमुख नदीहरूको जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने पूर्वानुमान छ। आइतबार जोखिम घट्ने तथा सोमबार र मङ्गलबार प्रमुख नदीहरूको सतह सामान्य रहने आकलन गरिएको छ। कोशी र नारायणीका उच्च हिमाली जलाधारमा हिमपात तथा हिमपहिरोको जोखिम पनि छ।
केन्द्रले नदी तथा खोलाको तटीय क्षेत्र, किनारका सडक र जोखिमयुक्त उपत्यकामा यात्रा नगर्न अनुरोध गरेको छ। अत्यावश्यक यात्रा गर्दा सतर्कता अपनाउन, खोला नतर्न र स्थानीय प्रशासनको निर्देशन मान्न भनिएको छ। चक्रवाती प्रभाव रहुन्जेल अद्यावधिक बुलेटिन जारी गर्ने र त्यतिन्जेल टोल फ्री नम्बर ११५५(२) पुनः चलाइएको केन्द्रले जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



