काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको घटनासहित सरकारका विवादित कदमहरूको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
सिंहदरबारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त माग गर्ने निर्णय गरेको संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बताए। दोषी पाइएकालाई कानुनी कारबाही हुनुपर्ने उनले बताए र छानबिन स्वतन्त्र, निष्पक्ष र सार्वजनिक हुनुपर्ने बताए।
स्पष्ट कानुनी आधार र अदालतको अनुमति सार्वजनिक नगरी प्रहरी समाचार कक्षभित्र प्रवेश गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब मात्र नभई कानुनी शासनविपरीतको स्वेच्छाचारी कदम भएको कांग्रेसले जनाएको छ। गत शुक्रबार सादा पोसाकका प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई समाचार कक्षबाट पक्राउ गरेका थिए र उनीहरू सोही साँझ रिहा भएका थिए।
बैठकमा महामन्त्री प्रदीप पौडेलले सरकारले विभिन्न छानबिन समितिका प्रतिवेदन लुकाएको आरोप लगाए। कांग्रेसले सम्पत्ति छानबिन आयोग, सुरक्षा निकायको भूमिकासम्बन्धी समिति र सुधन गुरुङको सम्पत्ति तथा लगानी छानबिन समितिलगायतका प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
कांग्रेसले संसद् चाँडो बोलाउन पनि माग गर्ने भएको छ। सांसद कृष्णबहादुर रोकायका अनुसार विपक्षी दलहरूको बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको थियो।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



