काठमाडौँ — दसैं मनाउन घटस्थापनादेखि मंगलबारसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ। यो अवधिमा बाहिरिएका सवारीसाधनको संख्या ७९ हजार ६७६ छ।
द काठमाडौँ पोस्टसँग उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले र साँखुमा चाप बढेको बताएका छन्। आवागमन सहज बनाउन र दुर्घटना घटाउन चौबीसै घण्टा प्रहरी खटाइएको उनको भनाइ छ।
प्रहरीको मंगलबारसम्मको गणनामा बाहिरिने पुरुष ३ लाख ४८ हजार ८२३ र महिला २ लाख २७ हजार ७५५ छन्।
काफ्लेले लामो यात्रामा निस्कनुअघि गाडीको अवस्था र चालक सवारी चलाउन सक्षम छन् कि छैनन् भन्नेमा ध्यान दिन यात्रुलाई आग्रह गरेका छन्। चालकलाई भने अत्यधिक समय लगातार गाडी नचलाउन सुझाएका छन्।


