काठमाडौँ — भिजिट भिसा जारी गर्दा घुस लिइएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार बिहान कालिकास्थानस्थित अध्यागमन विभागको केन्द्रीय कार्यालयमा छापा मारेको छ।
सेतोपाटीका अनुसार अख्तियारको टोलीले विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग सोधपुछ गरेको छ र कम्प्युटरको सीपीयूसहितका कागजात तथा सामान नियन्त्रणमा लिएको छ। टोलीले महानिर्देशकको कार्यकक्षसँगै प्राविधिक कक्षमा पनि छापा मारेको समाचारमा जनाइएको छ।
महानिर्देशक तिवारीले आफू विभागमा आएको दुई महिना मात्र भएको र त्यसअघिका अनियमितताबारे सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन्। छापापछि आफू पनि अलमलमा परेको उनले बताए।
भिजिट भिसाका नाममा रकम असुली भएको उजुरीका आधारमा छापा मारिएको अख्तियार स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा पनि यस्तै छापापछि तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई पक्राउ परेका थिए र उनीविरुद्धको मुद्दा विशेष अदालतमा चलिरहेको छ।
अख्तियारले अनुसन्धान जारी रहेको जनाएको छ। विभागले छापाबारे थप प्रतिक्रिया दिएको छैन।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



