सुर्खेत — डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। गएराति फरार भएका आठै जनाको पहिचान जिल्ला प्रहरी कार्यालय डोल्पाले शनिबार सार्वजनिक गरेको रेडियो नेपालले जनाएको छ।
फरार हुनेमा जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धन बुढा भन्ने हरिबहादुर बुढा छन्।
चोरी मुद्दाका जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन्। उनीहरूले ४.६३ मिटर लामो सुरुङ खनेर कारागारबाट बाहिरिएको र शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको उनले बताइन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार घटनाबारे कारागारको सिसिटिभी फुटेजलगायतबाट अनुसन्धान भइरहेकाले कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन सकेको छैन। फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



