मनासस, भर्जिनिया — श्रीमती बेपत्ता हुनुभन्दा केही महिनाअघि नै नरेश भट्टले जीवनसाथी हराउँदा के हुन्छ भन्ने विषयमा इन्टरनेटमा खोजी गरेको एक डिजिटल फोरेन्सिक अनुसन्धानकर्ताले बुधबार जूरीसमक्ष बयान दिइन्। बचाउ पक्षले भने धेरै खोजीमा समय नखुलेकाले ती कहिले र किन गरिए भन्ने प्रमाणित गर्न नसकिने तर्क गरेको छ।
प्रिन्स विलियम काउन्टी प्रहरीको डिजिटल फोरेन्सिक्स युनिटकी क्याथरिन जाइमिसका अनुसार सन् २०२४ को मार्चमा गरिएका खोजीमा “what happens if a spouse disappears” (जीवनसाथी बेपत्ता भए के हुन्छ) र “can I divorce if wife lost” (श्रीमती हराएमा सम्बन्धविच्छेद गर्न सकिन्छ?) जस्ता प्रश्न थिए।
जिरहका क्रममा बचाउ पक्षका वकिलहरूले ती अभिलेखको व्याख्यामाथि प्रश्न उठाए। धेरै खोजीमा टाइमस्ट्याम्प नभएकाले अनुसन्धानकर्ताले तिनको ठ्याक्कै समय, क्रम र स्थान पुष्टि गर्न नसक्ने उनीहरूको भनाइ थियो। कुनै व्यक्तिले कुन उद्देश्यले कुनै प्रश्न खोजेको हो भन्ने कुरा पनि ती अभिलेखले देखाउँदैनन् भन्ने तर्क बचाउ पक्षले गरेको छ।
यो बयान मुद्दाको तेह्रौँ दिन आएको हो। भट्टमाथि पहिलो डिग्रीको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। अभियोजकहरूले उनले श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव टुक्र्याएको आरोप लगाएका छन्। ममताको शव अहिलेसम्म भेटिएको छैन।
फक्स ५ डीसीको अदालत रिपोर्टिङअनुसार जाइमिसले मासु काट्ने उपकरण, डलर ट्रीका चक्कुमा धार लगाउने उपकरण र काठ काट्ने हाते आरीसम्बन्धी खोजीबारे पनि बताइन्। वयस्क र बालबालिकाका लागि निद्रासम्बन्धी पूरक मेलाटोनिनको मात्राबारे पनि खोजी भएको थियो।
डिजिटल अभिलेखमा दम्पतीकी एक वर्षकी छोरीसम्बन्धी प्रश्न पनि भेटिएका थिए। जाइमिसका अनुसार भट्टले “can I donate my baby to my friend?” (के म आफ्नो बच्चा साथीलाई दिन सक्छु?) भनेर खोजेका थिए। बच्चाको राहदानी बनाउनेसम्बन्धी खोजी पनि अनुसन्धानकर्ताले फेला पारेका थिए।
ब्राउजिङ इतिहासमा दिल्लीदेखि डलेससम्मको यात्रा र कारम्याक्सलाई बेचिसकेको गाडीबारे मन बदल्न सकिन्छ कि सकिँदैन भन्ने खोजी पनि थिए।
भट्टको फोनमा ममताको सम्पर्क नाम बदलेर “BAD MEMORY” राखिएको र त्यसपछि दौडिरहेको व्यक्तिको इमोजी थपिएको जूरीलाई सुनाइयो। प्रमाणमा अर्की महिलाबारेका सन्देश र श्रीमती बेपत्ता भएपछि भट्टले उनलाई गरेका आठ वटा फोनको विवरण पनि समेटिएको थियो।
बुधबारै भिडियो इन्हान्समेन्ट विशेषज्ञले पनि बयान दिए। उनले घर र फोहोर थिच्ने केही कम्प्याक्टर रहेका स्थानको फुटेज विश्लेषण गरेका थिए। बयानअनुसार फुटेजमा भट्ट पन्जा लगाएर साना झोला फ्याँकिरहेको देखिन्छ।
यसअघि मंगलबार एफबीआईका एक विशेषज्ञले मोबाइल फोनको स्थान र गाडीको आवतजावतबारे बयान दिएका थिए। ती अभिलेखले सामान्यतया दुवैको फोन र भट्टको गाडी एउटै क्षेत्रमा देखाए पनि तीन अपवाद थिए। तीमध्ये एक घटनामा ममताको फोन एकै ठाउँमा रहँदा भट्टको गाडी चान्टिलीतर्फ गएको थियो।
तीन घरका छिमेकीले पनि मंगलबार भट्टले आफ्नी श्रीमती हराएको कुरा आफूहरूलाई नबताएको बयान दिएका थिए।
युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्ने ममता सन् २०२४ अगस्ट १ मा काममा पुगिनन्। लगातार दुई सिफ्ट नआएपछि भोलिपल्ट सहकर्मीहरूले प्रहरीलाई दम्पतीको हेदर कोर्टस्थित घरमा गएर उनको अवस्था बुझ्न आग्रह गरे।
भट्टले सुरुमा प्रहरीलाई आफ्नी श्रीमती हराएको नठानेको र जुलाई २९ मा अन्तिम पटक देखेको बताएका थिए। तर आफन्त र साथीहरूले ममताले आफ्नी सानी छोरी छाडेर जाने कुरा नपत्याउने बताए।
भट्टले अगस्ट ५ मा मात्र श्रीमती हराएको उजुरी दिए। उनले श्रीमतीले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको प्रहरीलाई बताएका थिए। सोही दिन अधिकारीहरूले ममताको बेपत्तालाई अनैच्छिक घोषित गरे।
मुख्य शयनकक्ष र बाथरुममा व्यापक रगतका दाग भेटिएपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा भट्टलाई पक्राउ गरेको थियो। अदालती अभिलेखअनुसार अनुसन्धानकर्ताले कपालका टुक्रा भएको पावर आरी बरामद गरेका थिए र भट्टलाई फोहोर फाल्ने विभिन्न स्थानसँग जोड्ने प्रमाण पनि जुटाएका थिए।
पक्राउ परेदेखि भट्ट हिरासतमै छन्। मुद्दाको चौधौँ दिनको सुनुवाइ बिहीबार हुनेछ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



