नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिबारे छुट्टै एजेन्डा समावेश गर्न संयुक्त प्रस्ताव गरेको आइएएनएसले जनाएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको सचिवालयले शनिबार जारी गरेको वक्तव्यअनुसार दुई देशले ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको एजेन्डा प्रस्ताव गरेका हुन्। मन्त्री चौधरीले सम्मेलनको कार्यविधि नियमावलीको मस्यौदाको नियम १२ अनुसार दुवै देशका तर्फबाट प्रस्ताव पेस गरेकी हुन्। कोप–३१ टर्किएको अन्ताल्या सहरमा नोभेम्बर ९ देखि २० सम्म हुँदै छ।
प्रस्तावमा हिमाली क्षेत्रको तापक्रम वृद्धि र तापक्रम लक्ष्य नाघ्दाका असरबारे वैज्ञानिक अध्ययन गर्न, हिमाल र जलवायु परिवर्तनबारे वार्षिक उच्चस्तरीय संवाद गर्न तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (UNFCCC) अन्तर्गत हिमाली पारिस्थितिक प्रणालीका लागि कार्ययोजना बनाउने प्रक्रिया थाल्न माग गरिएको छ। जलवायु अनुकूलन, जलवायु वित्त र हानिनोक्सानीसम्बन्धी छलफलमा हिमाली क्षेत्रका प्राथमिकता समेट्न पनि प्रस्तावमा भनिएको छ।
हिमाली क्षेत्रमा बढ्दो तापक्रमले हिमनदी पग्लने क्रम तीव्र भएको, पानीको असुरक्षा बढेको र समुदाय चरम मौसमी घटनाको जोखिममा परेको प्रस्तावमा उल्लेख छ। यी परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र त्यसमा निर्भर समुदायमा अपूरणीय क्षति पुग्न सक्ने चेतावनी पनि दिइएको छ।
प्रस्तावमा गत अगस्ट २६ मा नेपालका भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीको उदाहरण दिइएको छ। सरकारको द्रुत विपद् आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार सो बाढीले करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति गरेको थियो भने पुनर्निर्माणका लागि ४ अर्ब ७० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको छ। भुटानमा बिहीबार राति हिमताल फुटेर आएको बाढीले पनि पूर्वाधारमा क्षति गरेको थियो।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



