मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा आइतबार शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्, प्रहरीले जनाएको छ।
बिहान करिब ११:३० बजे जमिनमा गाडिएको अवस्थामा रहेको पुरानो सकेट बमजस्तो देखिने वस्तु चलाउँदा विस्फोट भएको मोरङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएको खबर सेवाले जनाएको छ।
घाइते हुनेहरूमा विराटनगर–१५ बस्ने ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली छन्। विस्फोटको छर्राले खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जमिनमा पहिलेदेखि गाडिएर रहेको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा पड्किएको प्रारम्भिक अनुमान गरिएको डिएसपी मिश्रले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



