डोल्पा — सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट भागेका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले मंगलबार रुकुम पश्चिमबाट पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरको भनाइलाई अनलाइनखबर ले समेटेको छ।
प्रवक्ता राठौरका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जना बलात्कार मुद्दामा सजाय भोगिरहेका थिए।
उनीहरूलाई मंगलबार बिहान साढे १० बजे आठबिसकोट–६ दमाचौरको खोली बगरबाट पक्राउ गरिएको हो। चौरजहारी बेस क्याम्प र गोतमकोट प्रहरी चौकीबाट खटिएको सहायक प्रहरी निरीक्षक बुद्धिराम वली नेतृत्वको पाँच सदस्यीय टोलीले खोजीका क्रममा उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ।
दमाचौरबाट राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि नियन्त्रणमा लिइएको र सोधपुछमा उनीहरू भागेका कैदी भएको खुलेको प्रवक्ता राठौरले बताए। दुवैलाई गोतमकोट प्रहरी चौकीमा राखिएको छ।
आठै जना कैदी अक्टोबर ३१ (कात्तिक १४) बिहान ६ बजे ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर भागेका थिए। भागेका आठमध्ये अब दुई जना पक्राउ परिसकेका छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



