सुर्खेत — मुगुस्थित रारा ताल घुम्न गएको एक समूह जङ्गलमा हराएपछि नेपाली सेनाले १२ जनाको सकुशल उद्धार गरेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८, चुच्चेमारा क्षेत्रको जङ्गलमा अलपत्र परेको समूहलाई सेनाले उद्धार गरेको रेडियो नेपालले जनाएको छ।
समूह अलपत्र परेको जानकारी पाउनासाथ नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले उद्धार गरेको जनाइएको छ। गुल्मका प्रमुख (मेजर) खड्कबहादुर श्रेष्ठका अनुसार राति १० बजेर २५ मिनेटमा चुच्चेमारा क्षेत्रको मध्य भागबाट ८ जना महिला र ४ जना पुरुषको सकुशल उद्धार गरिएको हो।
श्रेष्ठका अनुसार उक्त समूह मुगुदेखि पैदल जुम्ला जाने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको थियो। उद्धारपछि उनीहरूलाई सुरक्षित रूपमा सल्लेरी ल्याइएको र त्यहाँबाट राति नै मुगु प्रहरीको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीवाडा गाउँ पुर्याइएको उनले बताए।
करिब चार घण्टा जङ्गलमा अलपत्र परेका सबै १२ जना जुम्लाको चन्दननाथ–२, भण्डारीवाडाका बासिन्दा हुन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



