काठमाडौँ — सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएको रेडियो नेपालले जनाएको छ।
बैठकले एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर (करिब २८ करोड ५० लाख डलर) बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर (२ करोड डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले बताए।
बैठकले टर्कीएको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि भएको छ।
त्यसैगरी मोही लागेको जग्गाको बाँडफाँटका लागि निवेदन दिने अवधि २०८५ कात्तिक मसान्तसम्म र बाँडफाँटको कारबाही टुङ्गो लगाइसक्नुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको मन्त्री पोखरेलले जानकारी दिए।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



