काठमाडौँ — न्युजरुममा प्रवेश गरेर पत्रकारहरूलाई प्रश्न सोध्ने प्रहरीको कदममा सरकारको पूर्ण स्वीकृति नभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले उक्त कदमबारे सरकार र प्रधानमन्त्री दुवैलाई जानकारी नभएको अनलाइनखबरले जनाएको छ।
पोखरेलका अनुसार प्रहरी संगठनभित्रका आन्तरिक विषयका समाचार कसरी सञ्चारमाध्यमसम्म पुगे भन्ने छानबिनका लागि प्रहरीले आफ्नै तर्फबाट उक्त कदम चालेको थियो। प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा उनीमाथि कारबाहीको तयारी गरेको भन्ने खालका समाचार प्रकाशित भएपछि ती समाचारको तथ्य नजाँची सूचना कसरी बाहिरियो भन्ने प्रहरीले खोजिरहेको उनको भनाइ थियो। पोखरेलले त्यस्ता समाचारलाई भ्रामक भनेका छन्।
प्रधानमन्त्रीलाई घटनाबारे जानकारी हुने बित्तिकै कुनै पनि पत्रकारलाई प्रश्न सोध्नका लागि नियन्त्रणमा नलिन प्रहरीलाई निर्देशन दिइएको पोखरेलले बताए। कसैलाई पक्राउ गरिएको वा हिरासतमा लिइएको भन्ने कुरा पनि उनले अस्वीकार गरेका छन्।
पत्रकारहरूलाई न्युजरुममै पुगेर प्रश्न सोधिएको घटनालाई लिएर विपक्षी दलहरूले संसदीय विशेष छानबिन समिति गठनको माग गरिरहेका छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



