काठमाडौँ — सम्माननीय प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा तथा अनलाइन समाचार एवम् सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको फुलकोर्ट बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ।
भर्जिनिया टाइम्सले प्राप्त गरेको सर्वोच्च अदालतको फुलकोर्टको विज्ञप्ति अनुसार संविधान र कानूनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिवद्धता रहेको फुलकोर्टले स्पष्ट पारेको छ। यसमा आफूहरू अडिग र स्पष्ट रहेको उल्लेख गर्दै बैठकले संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ।

संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौं।
सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवम् स्वतन्त्र ढंगबाट संविधान र कानूनबमोजिम छानबीन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न फुलकोर्टले सम्बद्ध निकायलाई आग्रह गरेको छ। सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानूनबमोजिम हुने छानबीन र अनुसन्धानमा कानूनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहीता एवम् सहयोग गर्ने कुरामा आफूहरू प्रतिबद्ध रहेको पनि बैठकले जनाएको छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यस संस्थासँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम जनता एवम् सेवाग्राहीहरूमा भ्रम र नकारात्मक असर पर्न सक्नेतर्फ पनि फुलकोर्टले सचेत गराएको छ। छानबीनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनैपनि समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैमा बैठकले आग्रह गरेको छ।
प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झैँ न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई पनि फुलकोर्टले आग्रह गरेको छ।
पृष्ठभूमिमा, पछिल्लो समय न्यायाधीश हरिप्रसाद फुयाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा रहेका इनम सापकोटासँग कुराकानी गरेको र भेटघाट गरेको विषयलाई लिएर आलोचनामा परेका थिए। फुयालले भेटघाट र कुराकानी भएको स्वीकार गरेका छन्। साथै, पत्रकारहरू न्यायाधीशहरूकै उजुरीमा पक्राउ परेको दाबी पनि उनले गरेका छन्।
प्रधान न्यायाधीश र सम्बन्धित माननीय न्यायाधीशहरूले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरिसक्नुभएको सन्दर्भमा फुलकोर्टले यो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। मिति २०८३ कार्तिक १६ गते सोमबार बसेको पूर्ण बैठकको निर्णयको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि जारी गरिएको विज्ञप्तिमा अदालतका प्रवक्ता तथा सहरजिष्ट्रार डा. अशोककुमार क्षेत्रीको हस्ताक्षर छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



