सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरिचेस्थित हेलिप्याडमा मंगलबार बिहान अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने पाइलटसहित तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणलाई अनलाइनखबर ले समेटेको छ।
प्रहरीका अनुसार दुर्घटना बिहान ८ बजेर ११ मिनेटमा भएको हो। गोरक्षेपबाट आएको फिस्टेल एयरको ९एन–एजेआर हेलिकप्टर र लुक्लाबाट आएको एयर डाइनेस्टीको ९एन–एओडी हेलिकप्टर अवतरणका क्रममा ठोक्किएका हुन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकप्टरका रोटर आपसमा ठोक्किएको जानकारी प्राप्त भएको र थप विवरण बुझ्ने काम भइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नईका करिब ४७ वर्षीय बसन्तकुमार बालारामुडु छन्। उनी फिस्टेल एयरको हेलिकप्टरमा सवार थिए।
घाइते हुनेमा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्वल केसी र भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलिश कुमार पटेल छन्। पटेल र प्रजापतिलाई प्रभु हेलिकप्टरमार्फत ललितपुरको मेडिसिटी अस्पताल लगिएको छ भने केसीको लुक्लाको निकोल निकुइल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक टेकनाथ सिटौलाले दुवै हेलिकप्टर अवतरणकै क्रममा दुर्घटनामा परेको बताए। दुर्घटनापछि आगलागी भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



