काठमाडौँ — संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले संसद्को बैठक तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले छिटोभन्दा छिटो संसद् आह्वान गर्न सभामुखसँग आग्रह गर्ने निर्णय गरेको सक्रिय न्युजले जनाएको छ।
हालै बिचौलियासँग जोडिएका विषयका साथै न्यायपालिकाको कार्यप्रणाली र प्रेससँग सम्बन्धित संवेदनशील मुद्दाहरू सतहमा छलफल हुनुभन्दा संसद्बाटै निरूपण गर्नुपर्ने भएकाले संसद् आह्वानका लागि आग्रह गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिए।
संसद्लाई छलेर अध्यादेशबाट मात्रै सबै कार्यहरू अगाडि बढाइएमा संसद्को गरिमा र अपरिहार्यतामाथि आँच आउने भएकाले संसद्लाई छिटो बोलाएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए।
बैठकले गम्भीर र संवेदनशील विषयहरूको उचित टुङ्गो लगाउन प्रतिपक्षी दलका नेताहरूबीच बैठक बसी साझा धारणा तयार पार्ने र देश तथा जनताको हितका लागि सधैं सहकार्य गर्ने निर्णय पनि गरेको आङदेम्बेले बताए। महाअभियोगबारे सत्तारूढ रास्वपा स्पष्ट नभएको भन्दै रास्वपाले यो विषय उठान गरेमा विपक्षी दलले आवश्यक धारणा बनाउने उनले उल्लेख गरे।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



