काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन्। समितिका अध्यक्ष बोधनारायण श्रेष्ठले चारै जना सिफारिस व्यक्तिविरुद्ध केही न केही उजुरी परेको र समितिले त्यसको अध्ययन गरिरहेको टु डेज बुलेटिनले जनाएको छ।
गोप्य नरहेका उजुरीलाई पहिले अध्ययन गरिने र गोप्य उजुरी अर्को बैठकमा हेरिने अध्यक्ष श्रेष्ठले बताए। उजुरीहरूको अध्ययनपछि समितिले संसदीय सुनुवाइको प्रक्रिया सुरु गर्ने छ।
सिफारिस भएकाहरूमा पोखरा उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, पाटन उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु, पाटन उच्च अदालत हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र जनकपुर उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्। डाँगीले वीरगञ्जको अन्तरिम इजलासमा पनि काम गरेका थिए।
उजुरी दर्ता गर्ने समय कात्तिक १९ गतेसम्म रहेकाले उजुरीको संख्या बढ्न सक्ने समितिले जनाएको छ। सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्र सिफारिस भएकाहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन सक्ने छन्।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



