मनासस, भर्जिनिया — नरेश भट्टको हत्या मुद्दामा अभियोजन पक्षले सोमबार आफ्ना अन्तिम साक्षीहरू प्रस्तुत गरेको छ। पाँच हप्ताको सुनुवाइपछि उनकी बेपत्ता श्रीमती ममता काफ्ले भट्टको मुद्दामा सरकारी पक्षको साक्षी प्रस्तुति सकिएको WJLA ले जनाएको छ।
मुद्दाको १५ औँ दिनमा अभियोजन पक्षले आफ्ना सबै साक्षी बोलाइसकेको पुष्टि गरेको छ। मंगलबार निर्वाचनको दिन अदालत बन्द रहनेछ र बुधबारदेखि प्रतिरक्षा पक्षले आफ्ना साक्षी प्रस्तुत गर्नेछ।
भट्टले पहिलो दर्जाको हत्या, शव लुकाएको र शव अपवित्र गरेको अभियोगमा आफूलाई निर्दोष बताएका छन्। २८ वर्षीया नर्स तथा आमा काफ्ले भट्ट सन् २०२४ को जुलाई अन्त्यतिर अन्तिम पटक देखिएकी थिइन् र उनको शव अहिलेसम्म फेला परेको छैन।
साथीलाई सुनका गहना र आफ्नै विवाहको औँठी
भट्टकी पुरानी साथी मन्दिरा श्रेष्ठले बयान दिँदै काफ्ले भट्ट बेपत्ता भएको केही दिनपछि भट्टले उनलाई श्रीमतीका सुनका गहना, औँठी र सिक्रीसहित, र आफ्नै विवाहको औँठी राख्न दिएको बताइन्।
घरमा धेरै मानिस आउजाउ गरिरहेकाले आमाले ती सामान सुरक्षित ठाउँमा राख्न चाहेको भट्टले आफूलाई बताएको श्रेष्ठले भनिन्। काफ्ले भट्ट फर्किए उनैलाई दिनू र नफर्किए आमालाई दिनू भनेर उनले भनेका थिए।
श्रेष्ठले आफूले भट्टलाई धेरै वर्षदेखि चिनेको बताइन्, आफू सेभेन–इलेभेनमा काम गर्दा र उनी किटनाशक नियन्त्रणको काम गर्दादेखि। सेनामा रहँदा बिदाका बेला उनी आफ्नो घरमा बस्ने गरेको र दुवै जनालाई चिनजान गराउने उनै भएको उनले बताइन्।
सन् २०२४ को अगस्ट २० मा बच्चाको पहिलो जन्मदिनको कार्यक्रममा श्रेष्ठले भट्टलाई ममतालाई केही गरेको हो कि भनेर सोधेकी थिइन्। “मैले उनलाई सोधेँ, ‘तपाईंले ममतालाई केही गर्नुभयो?’ उनले जवाफ दिए, ‘मैले उनलाई केही गर्छु जस्तो लाग्छ तपाईंलाई?'” उनले बयान दिइन्।
श्रेष्ठले ती गहना सन् २०२४ को अगस्ट २७ मा प्रहरीलाई बुझाएकी थिइन्। सन् २०२४ को मार्च १० तिर काफ्ले भट्टले आफूसँग बस्न आउन मिल्छ कि भनेर सोधेको तर त्यो सम्भव नभएको पनि उनले बताइन्।
दाजुको बयान: ‘म सुरक्षित छैन’
काफ्ले भट्टका दाजु महेश काफ्लेले सोमबार दिउँसो बयान दिँदै आफूले बहिनीलाई भट्टसँग विवाह नगर्न भनेको बताए। बहिनीले एक पटक आफूलाई तस्बिर पठाएर “यो सुरक्षित राख्नुहोस्; पछि चाहिन सक्छ” भनेको उनले बताए।
काफ्लेले बहिनीले आफूलाई “म सुरक्षित छैन” भनेको ज्युरीलाई सुनाए। प्रतिरक्षा पक्षले आपत्ति जनाए पनि न्यायाधीशले अभियोजनको तर्कसँग सहमत हुँदै त्यो भनाइ उनको मनस्थिति देखाउने भन्दै आपत्ति खारेज गरे।
दाजु र बहिनीबीच सम्बन्धविच्छेदबारे कुरा भएको र नेपाली समाजमा सम्बन्धविच्छेदलाई राम्रो नमानिने उनले बताए। पछि बहिनी कहाँ छ भनेर सोध्दा भट्टले जवाफ दिएका थिए, “हाम्रो छिमेकबाट अरू मानिस पनि हराएका छन्। उनी कहाँ हराइन् वा गुमिन्, मलाई थाहा छैन।”
टेक्सासमा बस्ने काफ्ले भट्टकी नजिककी साथी बबिदा भण्डारीले काफ्ले भट्ट आफूकहाँ बस्न कहिल्यै नआउने बयान दिइन्। श्रीमती बेपत्ता भएपछि भट्टले आफूलाई कहिल्यै सम्पर्क नगरेको उनले बताइन्।
रगत, डीएनए र टेस्ला
भर्जिनिया फरेन्सिक विज्ञान विभागकी वैज्ञानिक सुसन ग्रीनस्पुनले दम्पतीको घरको कार्पेटको दागबाट लिइएको डीएनएको बारेमा बयान दिइन्। मिश्रणले काफ्ले भट्ट र उनकी छोरी योगदानकर्ता भएको बलियो रूपमा समर्थन गरेको तर भट्टको बारेमा परीक्षण अनिर्णायक रहेको उनले बताइन्। डीएनए कहिले वा कसरी त्यहाँ पुग्यो भन्न नसकिने उनले भनिन्।
रगतको दाग विश्लेषक आइरिस ड्याली ग्राफले शयनकक्षको कार्पेटमा देखिएका ढाँचाहरू रगत लागेको कुनै वस्तु बाथरुमतर्फ सारिएजस्तो देखिएको बताइन्। बाथरुमको झ्यालको फ्रेममा देखिएका थोपाहरू चक्कु वा आराजस्तो रगत लागेको चलिरहेको वस्तुबाट उछिट्टिएको हुन सक्ने उनले भनिन्।
प्रतिरक्षा पक्षको जिरहमा ग्राफले आफू घरमा कहिल्यै नगएको र अनुसन्धानकर्ताले संकलन गरेका तस्बिर, प्रतिवेदन र थ्रीडी स्क्यानका आधारमा काम गरेको स्वीकारिन्। “ढाँचाहरू जे छन् त्यही हुन्,” उनले पुनः प्रश्नको जवाफमा भनिन्। “कसले हेर्न भन्यो भन्ने कुराले फरक पार्दैन। म यही देख्छु।”
कारम्याक्सका व्यवस्थापक जेम्स गिलले श्रीमती बेपत्ता भएको केही दिनपछि भट्टले बेचेको नीलो टेस्ला प्रहरीले सम्पर्क गर्नुअघि नै कम्पनीको पूर्ण रासायनिक सफाइ प्रक्रियाबाट गुज्रिसकेको बताए। “गाडी पूरै प्रक्रिया पार गरिसकेको थियो,” उनले भने।
पाँच हप्ताको सुनुवाइमा ज्युरीले अभियोजनका अनुसार रगत र कपाल भेटिएको विद्युतीय आराबारे पनि सुनेका छन्। भट्टको कामको खाताबाट गरिएका खोजीहरूबारे पनि सुनुवाइ भएको छ, जसमा जीवनसाथीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्ने खोजी पनि थियो।
साँझ ४:४० बजे ज्युरीलाई बिदा गरिएको थियो र वकिलहरू निवेदनमाथि बहस गर्न बसेका थिए। बुधबार अदालत खुलेपछि प्रतिरक्षा पक्षले आफ्नो प्रस्तुति सुरु गर्नेछ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया



